काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)मा बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा करिब ३७ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, समीक्षा अवधिसम्म बैंकहरुबाट १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ। यसअघि आर्थिक वर्ष २०८१/८२ को असोजसम्म उक्त कर्जा १ खर्ब ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ रहेको थियो। यसले देखाउँछ कि बैंकहरुबाट सेयर धितो कर्जा ३६.९७ प्रतिशतले वृद्धि भएको छ।
कर्जा वर्ग अनुसार हेर्दा, चालु वर्षको असोजसम्म १ करोड रुपैयाँ माथिको सेयर धितो कर्जा १ खर्ब ९८ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ६९ अर्ब ९७ करोड १ लाख रुपैयाँ थियो, यसले ४४.३२ प्रतिशतको वृद्धिलाई देखाएको छ।
त्यस्तै, समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको कर्जा १७ अर्ब ७० करोड ९८ लाख, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १७ अर्ब ८२ करोड ३७ लाख, र २५ लाख रुपैयाँसम्मको कर्जा ८ अर्ब ४३ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा, यी वर्गमा क्रमशः ३०.२८ प्रतिशत, १९.८६ प्रतिशत र १४.०६ प्रतिशत वृद्धि भएको हो।
सेयर बजारमा लगानी आकर्षित गर्न बैंकहरुले धितो कर्जाको प्रवाह बढाएको उल्लेख गर्दै, यो प्रवृत्ति पूँजी बजारको गतिविधिमा सकारात्मक संकेत भएको विश्लेषकहरूको धारणा छ। आर्थिक भ्वाइसँग कुराकानी गर्दै वित्त विश्लेषक मुक्ति अर्यालले लगानीकर्तालाई विविध ऋण सुविधा प्राप्त हुने र सेयर बजारमा अधिक पहुँच मिल्ने सम्भावना बढाउने बताएका छन् ।
पहिले बैंकहरूबाट सेयर धितो कर्जा लिनका लागि विभिन्न सीमा निर्धारण गरिएको थियो। यसले प्रायः मध्यम र साना लगानीकर्तालाई मात्रै लाभ पुर्याउँथ्यो भने ठूला लगानीकर्ताको पहुँच सीमित हुने गरेको थियो। तर हाल सरकारलेरनियामक निकायले सेयरमा लगानीको सीमा खुला गर्दा, ठूला लगानीकर्ताहरूले पनि ठूलो परिमाणमा लगानी गर्न सक्ने वातावरण बनेको उनको धारणा छ। यसले ठूला संस्थागत र व्यक्तिगत लगानीकर्ताहरूलाई शेयर बजारमा मोहित बनाएको अर्यालको तर्क छ ।
































