काठमाडौँ । आज चैत्र २८ गते बुधवारका दिन नेपाली बजारमा सुनको मूल्य एकाएक आकासिएको छ । उक्त दिन सुनको मूल्य प्रतितोला पाँच हजार ७०० ले बढेको छ।
बुधवार प्रतितोला रु एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि गत शुक्रवार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । सुनको मूल्य एकाएक किन बढ्यो भन्ने आम मानिसको चासो जागेको छ । यस अगाडि एक लाखसम्म सुनको मूल्य घट्ने लगायतका शीर्षकमा समाचार बाहिरिएको समयमा एकाएक सुनको मूल्य बढ्नुले खरिदकर्तामा आश्चर्य जनाएको छ ।
सुनको मूल्य किन एकाएक बढेको हो भन्ने आर्थिक भ्वाइसको प्रश्नमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले यस अगाडिकै केही कारणहरू यथावत् रहेको भए पनि आज एकाएक बढ्नुको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको र त्यसको प्रभाव नेपाली बजारमा समेत परेको बताएका छन् ।
साथै,अन्तर्राष्ट्रिय बजारमा एकै दिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ । सुनको मूल्य बढ्नुको अन्तर्राष्ट्रिय कारणहरूमा सुधार नआएको कारण यो मूल्यले थप उचाइ लिन सक्ने सम्भावना भएको अध्यक्ष रसाइलीले बताएका छन् । सुनको मूल्य एकाएक बढेको भए पनि व्यापारमा भने रौनक आउन नसकेको उनको भनाई छ ।
































