काठमाडौं । लक्ष्मी सन्राईज बैंक लिमिटेडको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बीच ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका लागि सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ।
सोलुखुम्बु जिल्लास्थित दुधकोशी नदीमा निर्माण हुने अर्धजलासययुक्त यस आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहनेछ। सहवित्तीयकरणमा सहभागी बैंकहरूले कुल लागतको ७० प्रतिशत अर्थात् करिब १० अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् भने बाँकी ३० प्रतिशत रकम कम्पनीका संस्थापकहरूले जुटाउनेछन्। यस सहवित्तीयकरणमा लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा एभरेष्ट बैंक सह–अगुवा तथा सानिमा बैंक सदस्य बैंकका रूपमा रहेका छन्।
दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनाले २०७७ साल असोज ७ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको हो भने २०७८ साल मंसिर ६ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (PPA) गरिसकेको छ। परियोजनाको प्रमुख प्रवद्र्धकमा आयु मलुन हाइड्रोपावर लिमिटेडसहित कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, श्री विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई र विभिन्न प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल संस्थाहरू रहेका छन्।
निर्धारित योजना अनुसार आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न हुनेछ। यसबाट वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत उत्पादन हुने अनुमान गरिएको छ, जसलाई राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ। परियोजना सम्पन्न भएपछि दुधकोशी–२ (जलेश्वर) नेपालकै ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एक बन्ने अपेक्षा गरिएको छ।































