काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार उच्च शिक्षाका लागि एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ। अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम बाहिरिएको थियो ।
देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि गुणस्तरीय शिक्षा नहुँदा बर्सेनि खरबौँ रकम बाहिरिने गरेको हो । केन्द्रीय बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो। आव २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो।
त्यस्तै, सेवा खाताअन्तर्गत समीक्षा वर्षमा भ्रमण आयत ७.७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।































