काठमाडौँ । सञ्चालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकमध्ये अधिकांश बैंकले लाभांश वितरण गर्न सक्ने अवस्थामा रहेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ ।
राष्ट्रिय स्तरका आठ विकास बैंकमध्ये ज्योति विकास बैंकको मात्र वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । ज्योतिको वितरणयोग्य मुनाफा गत असार मसान्तसम्ममा ७८ करोड ४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ।
वितरणयोग्य मुनाफा ऋणात्मक रहेको यस कम्पनी गत वर्षको चौथो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ।
साथै, खुद ब्याज आम्दानी अघिल्लो वर्ष २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष २ अर्ब ९ करोड रुपैयाँभन्दा बढी मात्र छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ पछि लाभांश वितरण गरेको छैन । वितरणयोग्य मुनाफा ऋणात्मक भए पनि कम्पनीले जगेडा कोषको रकमबाट लाभांश वितरण गर्न सक्नेछ। गत वर्षको अन्त्यसम्म कम्पनीको जगेडा कोषमा २ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी छ । ज्योति बाहेक बाँकी सबै विकास बैंक लाभांश वितरण गर्न सक्ने अवस्थामा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
साथै, वितरणयोग्य नाफामा रहेका राष्ट्रिय स्तरका बैंकमध्ये मुक्तिनाथ विकास बैंकको लाभांश क्षमता सबैभन्दा धेरै रहेको छ। यसको लाभांश वितरण क्षमता २० दशमलव ७५ प्रतिशतसम्म छ। यस बैंकले गत वर्ष पनि लगानीकर्तालाई लाभांश बाँडफाँट गरेको थिएनन् । आव २०७९/८० मा कम्पनीले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, लुम्बिनी विकास बैंकको लाभांश क्षमता सबैभन्दा कम अर्थात् ८ दशमलव १३ प्रतिशत रहेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ दशमलव ९६ प्रतिशत, गरिमा विकास बैंकको १२ दशमलव ५९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ११ दशमलव शून्य ६४ प्रतिशत र महालक्ष्मी विकास बैंकको ११ दशमलव ५१ प्रतिशत रहँदा कामना सेवा विकास बैंकको १७ दशमलव ३० प्रतिशत लाभांश क्षमता रहेको छ ।
कतिपय बैंक तथा कम्पनीले कुनै वर्ष मुनाफा सञ्चित गरी अर्को वर्ष आकर्षक लाभांश वितरण गर्ने रणनीति लिएका हुन्छन् भने वितरणयोग्य नाफा भने शेयर धनीहरूलाई वितरण गर्नकै निम्ति प्रयोग गर्ने गरिन्छ ।































