काठमाडौँ । नबिल बैंकले ’फोन लोन’ कर्जा नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकहरुबाट दुई लाख रुपैयाँसम्मको कर्जा फोन मार्फत लिन सकिन्छ। सोही कर्जा लिएका ७४ जनाले कर्जा नतिरेको भन्दै नाम सार्वजनिक गरेको छ।
बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कर्जा तिर्न सम्पर्कमा आउन ऋणीलाई जानकारी गराएको छ।
केही वर्षअघिबाट अभ्यासमा आएको यसरी कर्जा लिने सुविधा पहिलो पटक नबिल बैंकले सुरु गरेको थियो।
कर्जा रकम ऋणीको बैंकमा रहेको निक्षेप खातामै जम्मा हुन्छ। कतिपय बैंकले धितो नलिई एक हजारदेखि दुई लाख रुपैयाँसम्म यस्तो कर्जा दिइरहेका छन्। कर्जा लिएको एकै महिना वा एक वर्षमा तिर्न सक्ने गरेर यसको किस्ता तयार गरिएको हुन्छ। किस्ताबन्दीमा दिइने कर्जा बैंक अनुसार १५ हजारदेखि दुई लाखसम्म रहने गरेको पाइन्छ।
सम्पर्कमा नआए ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ। ऋण नतिर्ने ऋणीलाई पनि कालो सूचीमा राख्न सकिने व्यवस्था छ।



































