काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म ९ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । नबिल बैंकका अध्यक्ष निर्माण चौधरीले सम्मानपत्र ग्रहण गरे ।
सोमबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बीच अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चौधरीलाई पुरस्कृत गरेका हुन् ।
सरकारले हरेक वर्ष वित्तीय संस्थाहरू सहित विभिन्न विधाबाट सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ ।
यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८, २०७९/८० र २०८१/०८२ मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
नबिल बैंक लिमिटेड नेपालको एक अग्रणी बैंक हो ।


































