काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्मचारीको सुविधा र कल्याणलाई प्राथमिकता दिँदै तीनधारास्थित केन्द्रीय कार्यालयमा ‘नबिल नर्सिङ रुम’ सञ्चालनमा ल्याएको छ।
बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिकी सदस्य Sarita Bhatt Adhikari ले उक्त कक्षको औपचारिक उद्घाटन गरेकी थिइन्। कार्यक्रममा अन्य सञ्चालक सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला, अनिल केशरी शाह तथा नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र भुपेन्द्र पाण्डे लगायतको सहभागिता रहेको थियो।
कर्मचारीमैत्री कार्य वातावरण निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको नर्सिङ रुमले बैंकमा कार्यरत आमाहरूलाई कार्यालय समयमै सुरक्षित र सहज रूपमा स्तनपान गराउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै सञ्चालक सदस्य अधिकारीले यस पहलले कर्मचारीप्रतिको संस्थागत जिम्मेवारी अझ सुदृढ भएको बताइन्। अध्यक्ष चौधरीले यसलाई सकारात्मक र आवश्यक कदमका रूपमा व्याख्या गर्दै लैङ्गिक समानता र कर्मचारी हितप्रतिको प्रतिबद्धताको उदाहरण भएको उल्लेख गरे। उनले भविष्यमा यस्तो सुविधा अन्य शाखामा पनि विस्तार गर्ने संकेत गरे।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्ता पहलले कर्मचारीको मनोबल वृद्धि गर्नुका साथै सहयोगी कार्यसंस्कृति विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे।
हाल नबिल बैंकले देशभर २६८ शाखा र ३१८ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। साथै, बैंकले पछिल्लो समय दिगो तथा डिजिटल बैंकिङमा जोड दिँदै ‘एनबैंक’ सेवा पनि सञ्चालनमा ल्याएको छ।


































