काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्क अनुसार, नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क (मुद्रास्फीति) १.४७ प्रतिशत रहेको छ। उक्त अवधिमा कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यो सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ, जसले १६.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने बैंकले जनाएको छ।
वैदेशिक रोजगारबाट भित्रिने विप्रेषणमा पनि वृद्धि भएको छ। नेपाली रुपैयाँमा विप्रेषण ३५.४ प्रतिशत र अमेरिकी डलरमा २९.२ प्रतिशतले वृद्धि भएको छ। असोज महिनामा मात्र विप्रेषण रु. २ खर्ब ०१ अर्ब २२ करोड पुगेको छ।
निर्यातमा ८९.६ प्रतिशत र आयातमा १९.८ प्रतिशतले वृद्धि भएको देखिएको छ। यसैगरी, सरकारको खर्च रु. ३ खर्ब ६४ अर्ब ५९ करोड र राजस्व परिचालन रु. २ खर्ब ४९ अर्ब ५ करोड रहेको छ। विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक विन्दुगत आधारमा यसले १२.२ प्रतिशतको वृद्धि दर देखाएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३.० प्रतिशतले वृद्धि भई ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले वृद्धि भई ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ। वार्षिक आधारमा निक्षेप र कर्जा प्रवाह क्रमशः १३.० प्रतिशत र ७.३ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.५८ प्रतिशत रहेको छ भने ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशत रहेको छ। तथ्यांकले देशको वित्तीय प्रणालीको स्थिरता र वैदेशिक विनिमय सञ्चितिको मजबुती रहेको जानकारहरुको भनाई छ ।
































