काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको कुल वस्तु निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा कुल निर्यात ५८.२ प्रतिशतले बढेर ११६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात १६.५ प्रतिशतले मात्र वृद्धि भएको थियो।
गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात ८२.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.५ प्रतिशतले बढेको छ। यद्यपि चीनतर्फको निर्यातमा ७३.३ प्रतिशतको तीव्र गिरावट आएको छ।
https://www.youtube.com/watch?v=eeDjZ8h9YbY
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामग्री, जुत्ता तथा चप्पलजस्ता वस्तुको निर्यात बढेको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीको निर्यात घटेको छ।
यसै अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ३.० प्रतिशतले वृद्धि भएको थियो। आयात गर्ने मुलुकका आधारमा भारतबाट ५.७ प्रतिशत, चीनबाट २४.६ प्रतिशत र अन्य मुलुकबाट ४०.८ प्रतिशतले आयात बढेको छ।
वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स र चाँदीको आयात बढेको छ। तर हट रोल्ड सिट (इन क्वाइल), लसुन, खाने तेल, तेलहन र दाललगायतका वस्तुको आयात घटेको छ।
निर्यातभन्दा आयात तीव्र रूपमा बढ्दा समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १.५ प्रतिशतले मात्र वृद्धि भएको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १५.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११.१ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गरी ६९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७२ अर्ब ८४ करोड रुपैयाँ बराबरको रहेको थियो।






































