काठमाडौँ । नेपालको विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा रु २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ। २०८२ असार मसान्तमा यो सञ्चिति रु २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको थियो।
अमेरिकी डलरमा सञ्चिती २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशत वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु २६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशत वृद्धि भई रु २९८ अर्ब ९७ करोड पुगेको छ। भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.५ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ।
२०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँग अनुपात ४७.२ प्रतिशत, कुल आयातसँग अनुपात १३३.१ प्रतिशत, र विस्तृत मुद्राप्रदायसँग अनुपात ३६.६ प्रतिशत रहेको छ। २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए।






























