काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले २०८२ साल कात्तिक ३० गते ८८ वर्ष पूरा गरी ८९औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालय परिसरमा विशेष समारोह आयोजना गरिएको थियो।
नेपालभर २३१ शाखा, २३७ एटिएम र ६१ एक्सटेन्सन काउण्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समय ग्राहक सेवा सुधार र डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकतामा राखेको छ। हाल करिब १० लाख ग्राहक डिजिटल माध्यम प्रयोग गरेर बैंकिङ सुविधा लिई लाभान्वित भइरहेका छन्। बैंकले दक्ष तथा युवा जनशक्तिमार्फत छिटो, सरल र गुणस्तरीय सेवा प्रवाहमा निरन्तर सुधार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको छ।
वार्षिकोत्सवका अवसरमा २५ वर्ष सेवा गर्ने ३ जना तथा २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीलाई पदक र प्रशंसापत्र प्रदान गरिएको थियो। साथै चुनौतीपूर्ण सुरक्षा अवस्थामध्ये पनि महत्वपूर्ण योगदान पुर्याएका गौरादह शाखा र नयाँ बानेश्वर शाखाका सुरक्षकर्मीहरूलाई विशेष सम्मान गरिएको बैंकले जनाएको छ। यसैगरी, यस आर्थिक वर्षमा प्रादेशिक तथा भौगोलिक वर्गीकरणअनुसार उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई पनि पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष शर्माले कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्दै सबैलाई आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्र रहि उच्च इमान्दारिता र लगनशीलताका साथ सेवा प्रवाहमा जुट्न आग्रह गरे। उनले आगामी दिनमा संस्थागत सुधार र सेवा विस्तारका योजनामा सञ्चालक समिति निरन्तर साथ रहने विश्वास दिलाएका थिए।
































