काठमाडौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार, बैंकले तीन महिनाको अवधिमा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.३३ प्रतिशतले घटेको हो ।
चालु आवको पहिलो त्रैमासमा बैंकले २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँको तुलनामा १०.१४ प्रतिशतले बढी हो । तर, सञ्चालन नाफा भने घटेको छ । यो अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ४० करोड ३९ लाख रुपैयाँभन्दा १६.५१ प्रतिशतले कम हो ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषमा ४० करोड ६० लाख रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ सञ्चिति रहेको विवरणमा उल्लेख छ ।
यस अवधिमा वितरणयोग्य नाफा उल्लेख्य रूपमा वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँमा सीमित रहेकोमा यो वर्ष ४० करोड ६० लाख रुपैयाँ पुगेको छ । तर, बैंकको खराब कर्जा (NPL) दरमा वृद्धि देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४.९४ प्रतिशत रहेको खराब कर्जा चालु वर्षको सोही अवधिमा बढेर ५.७८ प्रतिशत पुगेको हो ।
असोज मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी (EPS) ९.४९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३.५५ रुपैयाँ पुगेको छ । समग्रमा प्रभु बैंकले ब्याज आम्दानीमा सुधार गर्न सफल भएपनि सञ्चालन खर्च र खराब कर्जा वृद्धि भएकाले खुद नाफामा उल्लेख्य गिरावट आएको देखिन्छ । तर, वितरणयोग्य नाफा र पूँजी संरचना सुदृढ रहनुले बैंकको दीर्घकालीन वित्तीय स्थायित्वमा सकारात्मक संकेत दिएको मान्न सकिन्छ ।
































