काठमाण्डौ। लगातार तीन दिनसम्म उचाइमा पुगेको सुनको मूल्यमा आज गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा समेत सुनको भाउ ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार २ सय रुपैयाँमा सीमित भएको छ।
यसअघि अघिल्लो कारोबार दिन सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले घट्दै ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि ओरालो लागेपछि सुनचाँदी दुवैमा एकैसाथ गिरावट आएको हो।
व्यवसायीहरूका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भइरहेको भू–राजनीतिक तनाव, केन्द्रीय बैंकहरूको मौद्रिक नीतिमा देखिएको अनिश्चितता तथा लगानीकर्ताको सुरक्षित लगानीप्रतिको चासोले सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। त्यसको असर नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा देखिन थालेको हो ।






































