काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ७ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको जम्मा ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो।
प्रचलित कानुनी व्यवस्थाअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेको भन्दै बैंकले हालका संस्थापक सेयरधनीका लागि मात्र उक्त सेयर बिक्री प्रक्रिया अघि बढाइएको जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीले काठमाण्डौको बबरमहलस्थित प्रभु बैंकको प्रधान कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बैंकले स्पष्ट पारेको छ।
तोकिने समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा संघ–संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

































