काठमाडौँ। गत आर्थिक वर्षको असार मसान्तसम्म सूचीकृत १५ फाइनान्स कम्पनीहरूले ८६ करोड ४४ लाख नाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्सहरूले समग्रमा खुद घाटा व्यहोरेका थिए। गत वर्ष भने २ वटा कम्पनी मात्र घाटामा छन्।
खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा बढेको छ ।
समीक्षा अवधिसम्म १५ फाइनान्समध्ये मञ्जुश्रीको चुक्ता पुँजी सबैभन्दा धेरै छ । यसको पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ बराबर छ । दोस्रोमा, आइसीएफसी फाइनान्सको १ अर्ब १८ करोड, रिलायन्सको १ अर्ब १२ करोड, पोखराको १ अर्ब ८ करोड, गुहेश्वरी फाइनान्सको १ अर्ब १ करोड र श्री इन्भेष्टमेन्टको १ अर्ब रुपैयाँ बराबरको पुँजी छ।
१५ फाइनान्सहरूको समग्रमा १४ अर्ब १३ करोड १७ लाख रुपैयाँ बराबरको पुँजी देखिएको छ । यता, जगेडा कोष गुडविल फाइनान्सको सबैभन्दा धेरै १ अर्ब ३३ करोड रुपैयाँ बराबरको छ ।
कम्पनीहरूको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा आइसीएफसी फाइनान्स अगाडि छ। कम्पनीले १ वर्षको अवधिमा ३४ करोड ४९ लाख नाफा कमाएको छ। त्यस्तै, मञ्जुश्रीले ३१ करोड ४३ लाख नाफा आर्जन गरेको छ । तर सोही १२ महिनाको अवधिमा गोर्खाज र जानकी फाइनान्सले भने घाटा व्यहोरेका छन् ।
फाइनान्स कम्पनीहरूले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार आइसीएफसी र मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी क्रमशः २९.१५ रुपैयाँ र २३.२६ रुपैयाँ छ। गोर्खाज र जानकी फाइनान्सको प्रतिसेयर आम्दानी ऋणात्मक देखिएको छ ।
तालिकामा हेर्नुहोस्
































