काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकहरूको प्रतिशेयर आम्दानी (ईपीएस) घटेको देखिएको छ। सो अवधिमा बैंकहरूको औसत ईपीएस ३.७२ रुपैयाँले घट्दै १७.८३ रुपैयाँबाट १४.११ रुपैयाँमा झरेको छ।
वाणिज्य बैंकहरूले प्रकाशन गरेका पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २० बैंकमध्ये १६ बैंकको ईपीएस घटेको छ भने ४ बैंकको मात्र वृद्धि भएको छ। ग्लोबल आइएमई बैंकको ईपीएस २.७७ रुपैयाँले, सानिमा बैंकको १.६० रुपैयाँले, एभरेष्ट बैंकको १.५९ रुपैयाँले र एनआईसी एशिया बैंकको ०.३० रुपैयाँले सुधार भएको छ।
ईपीएसमा सबैभन्दा ठूलो गिरावट
ईपीएस सबैभन्दा बढी घट्ने बैंकको सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अग्रस्थानमा रहेको छ। गत वर्ष पहिलो त्रैमासमा १७.१६ रुपैयाँ रहेको यस बैंकको ईपीएस चालु आवको सोही अवधिमा घटेर ०.५३ रुपैयाँमा पुगेको छ, अर्थात् १६.६३ रुपैयाँले कमी आएको हो।
त्यसैगरी, सिटिजन्स बैंकको ईपीएस पनि उल्लेख्य रूपमा घटेको छ। गत वर्ष ५.५८ रुपैयाँ रहेको यस बैंकको ईपीएस यस त्रैमासमा ऋणात्मक हुँदै माइनस ५.९७ रुपैयाँमा पुगेको छ, जसका कारण ११.५५ रुपैयाँको गिरावट आएको हो।
अन्य घट्ने बैंकहरूमा नेपाल एसबीआई बैंक (११.४९ रुपैयाँले), स्ट्याण्डर्ड चार्टर्ड बैंक (९ रुपैयाँले), प्रभु बैंक (८.१९ रुपैयाँले), एनएमबी बैंक (५ रुपैयाँले), नबिल बैंक (४.३४ रुपैयाँले) र लक्ष्मी सनराइज बैंक (३.७९ रुपैयाँले) रहेका छन्।
उच्चतम र न्यूनतम ईपीएस
चालु आवको पहिलो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस एभरेष्ट बैंकको ३६.४४ रुपैयाँ रहेको छ भने सबैभन्दा कम सिटिजन्स बैंकको माइनस ५.९७ रुपैयाँ रहेको छ।
नाफाको अवस्थाः केही सुधार, समग्रमा गिरावट
यो अवधिसम्म सबैभन्दा धेरै नाफा वृद्धि गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ, जसको नाफा २९५ प्रतिशतले बढेको छ।
तर, समग्र रूपमा वाणिज्य बैंकहरूको नाफा १८.७८ प्रतिशतले घटेको छ। यस अवधिमा सिटिजन्स बैंकले २२ करोड रुपैयाँ घाटा बेहोर्नु परेको छ। कृषि विकास बैंकको नाफा ९६.९९ प्रतिशतले घटेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ९६.९२ प्रतिशतले खुम्चिएको छ।


































