काठमाडौँ । पछिल्लो समय नेपालमा बैंकिङ कसुरको घटनाहरूको संख्या बढ्दो रूपमा रहेको छ । एक महिनाको अवधिमा अर्थात् साउन महिनामा मात्रै बैंकिङ कसुरसम्बन्धी १ हजार ६ सय ३ वटा मुद्दा दर्ता भएका छन् ।
साउन महिनामा दर्ता भएका मुद्दा सम्पूर्ण बैंकिङ अपराधका शीर्ष १० मुद्दामध्ये २७.९३ प्रतिशत रहेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ कसुरसम्बन्धी १३ हजार ८३७ वटा मुद्दा दायर भएका छन्। त्यस्तै, प्रदेशअनुसार बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी काठमाडौँ उपत्यकामा रहेको छ । उपत्यकामा मात्रै ८ हजार ८० वटा मुद्दा दर्ता भएका छन्। भने, सबैभन्दा कम मुद्दा कर्णाली प्रदेशमा दर्ता भएको छ । कर्णालीमा २९७ वटा मुद्दा मात्र दर्ता भएका छन्।
पछिल्लो समय डिजिटल बैंकिङ र मोबाइल बैंकिङको प्रयोग बढ्दै जाँदा बैंकिङ कसुरका मुद्दा पनि बढेका छन्। बैंकिङ कसुरका मुद्दा बढ्नुमा अनलाइन बैंकिङ, डिजिटल लेनदेनको वृद्धि र न्यून सुरक्षा उपाय प्रमुख कारण हुनुको साथै, कर्मचारी स्तरमा प्रशिक्षणको कमी र बैंक व्यवस्थापनको निगरानी कमजोर हुनुले यस किसिमको घटना बढिरहेको जानकारहरूको भनाई छ ।


































