काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरी बीमा दाबी भुक्तानी मार्गदर्शन जारी गरेको हो ।
अब बीमा कम्पनीहरुले आफ्नो संगठन संरचना अन्तर्गत दाबी विभाग गठन गर्नुपर्नेछ । बीमा कम्पनीहरुलाई बीमितमैत्री बनाउन र बीमितबाट समयमै दाबी भुक्तानी नपाएको धेरै गुनासो आउन थालेपछि प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन जारी गरेको सुचनामा भनिएको छ ।
उक्त मार्गदर्शनबमोजिम बीमितहरुले बीमा दाबी गर्नुपर्ने भएमा यथासम्भव छिटो बीमा कम्पनीलाई लिखित रुपमा जानकारी गराउनुपर्नेछ र यसरी जानकारी गराएको मितिलाई दाबी मिति मानिने प्राधिकरणले जानकारी दिएको छ ।
साथै लिखित रुपमा जानकारी गराउन नसक्ने अवस्था भएमा दाबीकर्ताद्वारा मौखिक, टेलिफोन, इमेल वा अन्य कुनै माध्यमबाट समेत सूचना दिन सकिनेछ र त्यस्तो सूचना दिएको मितिलाई समेत दाबी मिति मानिनेछ । तर यस्तो माध्यमबाट सूचना दिएपश्चात् यथासम्भव बीमितले छिटो लिखित रुपमा समेत सूचना दिनुपर्नेछ ।
दाबीकर्ता वा बीमितले दाबी सम्बन्धी निवेदन दर्ता गरेमा वा बीमकलाई सूचना गरेमा बीमा कम्पनीले क्रमानुसार दाबी दर्ता किताबमा अभिलेख गराई दाबीकर्तालाई सो को जानकारी दिनुपर्नेछ । साथै बीमकले विद्युतीय माध्यममा समेत दाबीको अभिलेख राख्नुपर्नेछ ।
निर्जीवन बीमा दाबी भुक्तानी
निर्जीवन बीमाको दाबी भुक्तानीको लागि बीमितले बीमकलाई लिखित रुपमा जानकारी गराएमा वा निवेदन प्राप्त भएमा बीमकले आवश्यक जाँचबुझ प्रारम्भ गर्नुपर्ने व्यवस्था रहेको छ ।
बीमा दाबीका सम्बन्धमा सर्भेयर नियुक्त गर्नुपर्ने भएमा तत्काल बीमितको नाम ठेगाना र दाबीको विवरण सहित लिखित रुपमा सर्भेयर नियुक्त गर्नुपर्नेछ ।
बीमकले सर्भेयर नियुक्त गरेपछि सर्भेयरको नाम, ठेगाना, सम्पर्क समेत बीमितलाँई पत्रमार्फत उपलब्ध गराउनुपर्नेछ । बीमकले सर्भेयर नियुक्त गर्दा प्राधिकरणबाटै सर्भेयर इजाजतपत्र प्राप्त गरी इजाजतपत्र बहाल रहेको व्यक्ति वा संस्थालाई मात्र नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ।
सर्भेयरले सर्भे प्रतिवेदन बीमकसमक्ष पेश गरेको साधारणतया २१ दिनभित्र बीमकले दायितव ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ ।
२१ दिनभित्र बीमकले दाबी भुक्तानी गर्न नसकेमा वा गर्नु नपर्ने भएमा सो को कारण सहितको जानकारी र सो विरुद्ध नेपाल बीमा प्राधिकरणमा उजुरु गर्न सकिने व्यवस्थाको बारेमा समेत बीमितलाई लिखित जानकारी गराउनुपर्ने छ ।
जीवन बीमा दाबी भुक्तानी
नेपाल बीमा प्राधिकरणले जीवनबीमातर्फ परिपक्व भएको बीमालेख र मृत्यु दाबी भुक्तानीमा पनि फरक–फरक मार्गदर्शन निर्धारण गरिएको छ ।
जसमा परिपक्व भएको बीमालेखको दाबी भुक्तानीको हकमा बीमा कम्पनीले बीमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बीमालेख तथा परिचय खुल्ने कागजातहरु लिई भुक्तानी लिन आउन सूचना जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसका साथै बीमितले बीमा दाबी भुक्तानीका लागि कागजातहरु पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी निवेदन दर्ता भएको ७ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने जनाएको छ ।
मृत्यु दाबी भुक्तानी सम्बन्धमा बीमालेखको अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए र कसैलाई पनि इच्छाएको नभए बीमा ऐनको दफा १२७ को उपदफा ९२० तथा ९३० मा उल्लिखित व्यक्तिहरुमध्ये सबैभन्दा नजिकको हकवाला वा अख्तियारप्राप्त व्यक्तिले त्यस्तो बीमा रकम लिनको लागि विभिन्न विवरणहरु खुलाइइ दाबी भुक्तानीको लागि निवेदन दिनुपर्ने प्राधिकरणले जनाएको छ ।
जसमा दाबी सम्बन्धी विवरण, बीमितको मृत्यु प्रमाणपत्र, दुर्घटनाबाट बीमितको मृत्यु भएको भए बीमितको मृत्युको कारणका सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परिक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन र बीमितसँगको नाता प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ।
बीमितको हकवालाले यी खालको कागजातहरु बुझाएपश्चात् बीमकले आवश्यक छानविन गरी र आवश्यक भए अन्य कुराहरु समेत बुझी त्यस्ता कागजातहरु प्राप्त भएको मितिले १५ दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनको लागि निवेदनको नाममा दाबी दाबी फर्छ्यौट पूर्जा जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।
उक्त दाबी फर्छ्यौट पूर्जामा निवेदकले सहीछाप गरी प्राप्त भएको मितिले १५ दिनभित्र बीमा कम्पनीले बीमाको दाबी भुक्तानी गर्नुपर्नेछ । र बीमकले विवरणहरु छानविन गरी दायित्व निर्धारण गर्दा बीमा भुक्तानी गर्नु नपर्ने भएमा सो को कारण खोली त्यसको लिखित जवाफ निवेदकलाई दिनुपर्नेछ । बीमकले निवेदकलाई जानकारी दिदा सो निर्णय उपर चित्त नबुझेमा नेपाल बीमा प्राधिकरणमा उजुरी समेत दिन सकिने व्यवस्था गरिएको छ।






































