काठमाडौँ । इन्सुरेन्स कम्पनीहरूलाई बिमा दाबी तथा भुक्तानीको जानकारी बीमितलाई एसएमएस मार्फत गराउने प्रबन्ध मिलाउन नेपाल बिमा प्राधिकरणले निर्देशन दिएको छ ।
पुस ४ गतेको निर्णयअनुसार प्राधिकरणले उक्त निर्देशन जारी गरिएको जनाएको छ ।प्राधिकरणले इन्सुरेन्स कम्पनीहरूलाई बिमा दाबी निवेदन आएपछि दर्ता गरेर त्यसको जानकारी एसएमएस मार्फत बीमितलाई गराउन निर्देशन दिएको हो।
निर्जीवन बिमाको क्षति मूल्यांकन गर्न सर्भेवर खटाएको तथा प्रतिवेदन प्राप्त भएको सूचना बीमितलाई गराउन समेत निर्देशन गरिएको छ ।
साथै, इन्सुरेन्स कम्पनीहरूलाई बिमा दायित्वको रकम बिमितको बैंक खातामा डिजिटल माध्यमबाट भुक्तानी गर्न आग्रह गरेको छ ।
लाइफ इन्सुरेन्स कम्पनीले दाबी भुक्तानी बापत बीमितलाई भुक्तानी गर्नुपर्ने रकम दाखिला नगरेसम्म अन्य बिमालेखको रकम समायोजन गर्न नपाइने निर्देशनमा भनिएको छ ।







































