काठमाडौं । बैंकबाट लिएको ऋण तिर्दिन भन्नेलाई समातेर थुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्धित निकायलाई निर्देशन दिएको नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बताएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नर्तिन भडकाउँदै हिंड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्वद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको बताएका हुन् ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा बैंकसं संघका पदाधिकारीसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने समेत बताए ।
‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन’, अर्थमन्त्री पुनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’
बैंकसं संघका पदाधिकारीसँगको कुराकानीमा मन्त्रि पुनले निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेण्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले बताए ।
मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे । फरक प्रसंगमा उनले सत्तारुढ गठबन्धनमा भएको परिवर्तनका कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुनेसमेत स्पष्ट गरे ।
अर्थमन्त्रीसँगको भेटमा बैंकर्स संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए । ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन समतेअर्थमन्त्री पुनसँग बैंकसंहरुले आग्रह गरेका थिए ।































