काठमाडौं : बैंकिङ प्रणालीमा निक्षेप वृद्धि दर तीव्र बन्दै गएको छ। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांक अनुसार गत बिहीबार मात्र बैंक तथा वित्तीय संस्थाहरूमा १५ अर्ब रुपैयाँ बराबरको निक्षेप थपिएको छ। यससँगै बैंकिङ प्रणालीमा कुल निक्षेप ६९ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।
अघिल्लो दिन अर्थात् जेठ २१ गतेसम्म कुल निक्षेप ६९ खर्ब ५१ अर्ब रुपैयाँ थियो। राष्ट्र बैंकका अनुसार सो दिन वाणिज्य बैंकहरूमा मात्रै १५ अर्ब रुपैयाँ निक्षेप थपिएको हो, जसपछि वाणिज्य बैंकको कुल निक्षेप ६२ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।
तर, निक्षेप वृद्धि भए पनि कर्जा विस्तार भने सुस्त देखिएको छ। सो अवधिमा १५ अर्ब निक्षेप थपिँदा केवल २ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। हालसम्म बैंकिङ प्रणालीको कुल कर्जा लगानी ५५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।
जसमध्ये वाणिज्य बैंकहरूले ४९ खर्ब ३४ अर्ब रुपैयाँ, र अन्य वित्तीय संस्थाहरूले ६ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। निक्षेप वृद्धि संगै बैंकिङ प्रणालीमा तरलता सहज देखिएको छ। राष्ट्र बैंकका अनुसार हाल अन्तर बैंक कारोबार ब्याजदर ३ प्रतिशत मा झरेको छ भने सिडी अनुपात (CD Ratio) पनि घट्दै ७८.५९ बिन्दु मा पुगेको छ।






























