काठमाडौं । बैंकिङ प्रणालीमा तरलता क्रमशः बढ्दै जाँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) निरन्तर घट्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत सीडी रेसियो ७४ प्रतिशतको सीमाभन्दा तल झरेर ७३.९५ प्रतिशतमा पुगेको छ।
लामो समयसम्म सीडी रेसियो ७४ प्रतिशतभन्दा माथि रहे पनि पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप संकलन अपेक्षाकृत तीव्र रूपमा बढेपछि उक्त अनुपात घटेर सो स्तरभन्दा मुनि आएको हो।
निक्षेप ७६ खर्ब नाघ्दा कर्जा ५७ खर्ब हाराहारी
केन्द्रीय बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूमा कुल ७६ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। सोही अवधिमा बैंकहरूले ५६ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्। निक्षेप वृद्धिदर कर्जा वृद्धिदरभन्दा उच्च भएपछि प्रणालीमा तरलता प्रशस्त हुँदै गएको देखिन्छ।
विशेष गरी सरकारी खर्च, रेमिट्यान्स आप्रवाह र निजी क्षेत्रबाट अपेक्षित कर्जा माग नबढ्दा बैंकहरूमा निक्षेप थुप्रिने अवस्था बनेको जानकारहरूको भनाइ छ।
अन्तरबैंक ब्याजदर न्यून तहमा
तरलता प्रशस्त हुँदै गएसँगै बैंकहरूबीचको अन्तरबैंक ब्याजदर पनि न्यून तहमा कायम रहेको छ। हाल अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अन्तरबैंक दर कम हुनु बैंकिङ प्रणालीमा तरलता सहज रहेको संकेतका रूपमा लिइन्छ।
कर्जा प्रवाह बढाउन चुनौती
सीडी रेसियो घट्दै जानु बैंकहरूको जोखिम वहन क्षमता बढेको संकेत भए पनि कर्जा माग कमजोर रहनुले लगानी र आर्थिक गतिविधि अपेक्षाकृत सुस्त रहेको तर्फ पनि इङ्गित गर्ने जानकारहरुको भनाई छ । तरलता प्रशस्त हुँदाहुँदै पनि कर्जा विस्तार हुन नसक्नु बैंकहरूका लागि मुख्य चुनौतीका रूपमा देखिएको छ।






































