काठमाडौँ – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा प्रवाह दुवैमा सकारात्मक वृद्धि देखिएको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ३.० प्रतिशतले वृद्धि भई ७४ खर्ब ८२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.६ प्रतिशतले बढेको थियो।
कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ। संस्थागत निक्षेपको हिस्सा ३५.३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३५.८ प्रतिशत थियो।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पनि बढेको देखिन्छ। पहिलो त्रैमासमा निजी क्षेत्रलाई १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड रुपैयाँको कर्जा प्रवाहित भई कुल कर्जा ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रलाई कर्जा २.५ प्रतिशतले मात्र बढेको थियो। वार्षिक आधारमा, निजी क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ।
कर्जा प्रवाहको संरचनामा गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.२ प्रतिशत रहेको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कर्जा प्रवाह क्रमशः १.६ प्रतिशत, ०.५ प्रतिशत र १.६ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा चालु सम्पत्ति (कृषि र गैर–कृषिजन्य) १५.० प्रतिशत र घरजग्गा धितो ६४.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी क्रमशः १३.४ प्रतिशत र ६५.८ प्रतिशत थिए।
वित्तीय वर्षको पहिलो त्रैमासमा कर्जा अनुसार निर्माण क्षेत्रमा २.९ प्रतिशत, यातायात–सञ्चार–सार्वजनिक सेवा क्षेत्रमा २.४ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा २.४ प्रतिशत, उपभोग्य क्षेत्रमा १.६ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रमा १.४ प्रतिशतले वृद्धि भएको छ, जबकि सेवा उद्योगमा ०.३ प्रतिशतले घटेको छ।
कर्जा प्रकार अनुसार रियल स्टेट कर्जा ३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.० प्रतिशत, क्यास क्रेडिट कर्जा २.७ प्रतिशत, आवधिक कर्जा ०.७ प्रतिशत, हायर पर्चेज कर्जा ०.६ प्रतिशतले बढेको छ। त्यस्तै, ट्रष्ट रिसिट (आयात) कर्जा ४.३ प्रतिशत र अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
































