काठमाडौं। पछिल्ला महिनाहरूमा निक्षेपको ब्याजदर लगातार घट्दै जाँदा वाणिज्य बैंकहरूको आधारदर पनि उल्लेखनीय रूपमा कम हुँदै गएको छ। हाल अधिकांश बैंकहरूको औसत आधारदर साढे ५ प्रतिशत वरिपरि झरेको छ, जसका कारण कर्जाको ब्याजदर समेत घट्दै गइरहेको छ। यसले ऋण लिने उपभोक्ता तथा व्यवसायिक क्षेत्रका लागि कर्जा अझ सस्तो र सहज बन्दै गएको छ।
हाल १८ वाणिज्य बैंकको आधारदर ६ प्रतिशतभन्दा कम छ भने दुई बैंकको आधारदर ६ प्रतिशतभन्दा माथि छ।
सबैभन्दा कम आधारदर
पछिल्लो विवरणअनुसार, स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा कम आधारदर कायम गर्न सफल भएको छ। यसको आधारदर ४.३६ प्रतिशत छ। त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको ४.५६ प्रतिशत र एभरेष्ट बैंकको ४.८५ प्रतिशत छ, जो ५ प्रतिशतभन्दा तलका दर हुन्।

बैंकहरूले आधारदरमा प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। तर कर्जाको माग कमजोर रहेकाले धेरै बैंकहरूले अत्यन्तै न्यून प्रिमियमसहित कर्जाको स्किम ल्याइरहेका छन्। एनआइसी एशिया बैंकले त आधारदरमै (०% प्रिमियम) सेयर धितो कर्जा उपलब्ध गराइरहेको छ। तर ब्याजदर घट्दै गए पनि कर्जा माग भने पर्याप्त रूपमा बढ्न सकेको छैन। अर्थतन्त्रको सुस्तता, राजनीतिक अस्थिरता तथा निजी क्षेत्रको लगानी मनोबल कम हुनु प्रमुख कारणका रूपमा देखिन्छ।
https://aarthikvoice.com/archives/77712
कर्जा माग नबढ्नुका कारण
हाल निजी क्षेत्रले लगानी सुरक्षित महसूस नगरिरहेको र राजनैतिक रुपमा देखिएको अस्थिरता सँगै गत भदौ २३–२४ को जेनजी आन्दोलनले निजी क्षेत्रमा परेको मनोवैज्ञानिकका कारण कर्जा माग नबढेको देखिएको छ । साथै, आन्तरिक बजारमा खर्च क्षमता घट्दै जानु, लगानी आकर्षित गर्न सरकारले नीतिगत स्थिरता, सुरक्षा प्रत्याभूति, र विश्वास निर्माण प्राथमिकताका रूपमा लिन नसक्नु लगायतको कारण कर्जा माग नबढेको विज्ञहरुको धारणा छ ।
निक्षेप सस्तो हुँदै, आधारदर झर्दै
अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भएकाले बैंकहरूले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन्। निक्षेप सस्तो बन्दै जाँदा बैंकहरूको आधारदर पनि स्वाभाविक रूपमा तल झर्दै गएको हो। यसले कर्जाको ब्याजदरलाई समेत क्रमशः निम्न बनाइरहेको छ।

































