काठमाडौँ । आज फेब्रुअरी १० अर्थात् भ्यालेन्टाइन सप्ताहको चौथो दिन ‘टेडी डे’। प्रेम सप्ताहको यस विशेष दिन दम्पती तथा प्रेमी-प्रेमिकाले एक अर्काप्रति आफ्नो माया, आत्मीयता र भावनात्मक सम्बन्ध झल्काउन टेडी बियर ‘गुडिया’ उपहार दिने प्रचलन छ।
प्रेम र भावनासँग जोडिएको यो दिनसँगै टेडी बियरको व्यापार पनि उल्लेख्य रूपमा बढेको देखिन्छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ६० करोड रुपैयाँभन्दा बढी मूल्यका टेडी बियर नेपाल भित्रिएका छन्।
विशेषगरी भ्यालेन्टाइन सप्ताह नजिकिँदै जाँदा टेडीको माग उच्च हुने गरेको देखिन्छ। विभागका अनुसार पुस महिनामा मात्रै १० करोड ३६ लाख ६४ हजार रुपैयाँ बराबरका टेडी आयात भएका छन्। टेडी बियर उपहार दिनु केवल खेलौना साटासाट मात्र होइन, यससँग भावनात्मक संकेत पनि जोडिएका हुन्छन्।
कुन रङको टेडीले के संकेत गर्छ ?
रातो रङको टेडी प्रेम र गहिरो मायाको प्रतिक मानिन्छ। सम्बन्धलाई भावनात्मक रूपमा अझ मजबुत बनाउने विश्वास गरिन्छ। गुलाबी टेडी आकर्षण, कोमलता र माया क्रमशः बढ्दै गएको संकेतका रूपमा लिइन्छ। यसलाई कहिल्यै अन्त्य नहुने प्रेमको प्रतीक मानेर पनि उपहार दिने गरिन्छ।
सुन्तला रङको टेडी खुशी, ऊर्जा र सकारात्मक सोचको प्रतीक हो। आफूले मन पराएको व्यक्तिसँग प्रेम प्रस्ताव राख्दा यो रङको टेडी दिन सकिने विश्वास छ। नीलो टेडी आफ्नो जोडीप्रतिको गहिरो र स्थिर प्रेम व्यक्त गर्ने माध्यमका रूपमा प्रयोग गरिन्छ।
हरियो टेडी भावनात्मक जडान र प्रतिबद्धताको प्रतीक मानिन्छ। ‘तिम्रालागि सधैँ पर्खने छु’ भन्ने सन्देश दिन हरियो टेडी उपहार दिने गरिन्छ। हरियो रङ सदावहार हुने भएकाले यसले सन्तुलन, स्थायित्व र निरन्तरताको भाव समेत झल्काउँछ।
किन मनाइन्छ ‘टेडी डे’ ?
‘टेडी डे’ को इतिहास झन्डै एक शताब्दीभन्दा पुरानो छ। सन् १९०३ मा न्यूयोर्कका एक क्यान्डी स्टोरका मालिक मोरिस मिचटम ले पहिलो पटक आधिकारिक रूपमा टेडी बियर बनाउन थालेका थिए। यो प्रसङ्ग तत्कालीन अमेरिकी राष्ट्रपति थियोडोर ‘टेडी’ रुजवेल्ट सँग जोडिएको छ।
एकपटक सिकारका लागि जंगल गएका राष्ट्रपति रुजवेल्टले माया लाग्दो भन्दै भालु मार्न अस्वीकार गरे। उनको यही दयालु व्यवहारलाई लिएर ‘द वासिङ्टन पोस्ट’ मा कार्टुनिष्ट क्लिफोर्ड बेरीमेन ले एउटा चित्र प्रकाशित गरे। उक्त चित्रले प्रभावित भएका व्यवसायी मिचटमले भालुको बच्चा जस्तै देखिने खेलौना बनाए।
उक्त टेडी बियरको डिजाइन मिचटमकी श्रीमतीले गरेकी थिइन् भने यसको नाम ‘टेडी’ राखिएको थियो ! जुन राष्ट्रपति रुजवेल्टकै उपनामबाट प्रेरित थियो। यही टेडी बियर समयक्रममा प्रेम, आत्मीयता र भावनाको प्रतीक बन्दै आज ‘टेडी डे’ का रूपमा संसारभर मनाइन्छ।






































