काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका २९ वटा निर्णय सार्वजनिक गरेका छन्। उनले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेर प्रक्रिया अघि बढाउने, स्वास्थ्य बीमा नियामावली २०८१ स्वीकृत गर्ने, तथा शिक्षक आन्दोलनसँग सम्बन्धित मागहरू सम्बोधन गर्ने निर्णयहरू त्यसमा समेटिएका छन्।
२५ चैतदेखि काठमाडौं केन्द्रित शैक्षिक हड्तालमा बसेका शिक्षकहरूको मागप्रति सरकारले वैशाख १६ मा सहमति जनाएको थियो । त्यसपछि आन्दोलन फिर्ता गरिएको हो।
त्यस्तै, बैठकले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, नेपाल मेटल कम्पनी, हेटौँडा सिमेन्ट, बुटवल धागो कारखाना र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालि गरी ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ।






































