काठमाडौं । सांँग्रिला डेभलपमेन्ट बैंकले अब मर्जर वा एक्विजिसनको प्रक्रिया अघि बढाउने भएको छ। बैंकको सञ्चालक समितिले मंसिर १२ गते बसेको बैठकमा कुनै उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभिने/गाभिने प्रक्रियामा जाने निर्णय गरेको हो।
यस सन्दर्भमा बैंकले पुस ७ गते काठमाडौंमा बिहान १०:३० बजे आफ्नो २१औँ वार्षिक साधारण सभा डाकेको छ। सभाले गाभ्ने वा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने र सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने लगायतका कार्यहरू गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ।
साधारण सभामा गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशत दरले १७ करोड ७८ लाख १२ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजन सहितको ५.३५ प्रतिशत दरले १९ करोड ५ लाख ५३ हजार रुपैयाँ नगद वितरण गरी कुल १०.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने निर्णय हुनेछ।
त्यसैगरी, सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने, चालु आव २०७९/८० का लागि लेखापरीक्षण गर्न डि.एस एण्ड एसोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्सलाई पुनः नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ पुग्नेछ। साथै, सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता, टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्चबापतको रकम वृद्धि गर्ने र बैंकको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
लाभांश वितरण र साधारण सभा व्यवस्थापनका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।





































