काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अनुसार अधिकांश वित्तीय सूचकहरूमा बैंकले सुधार गरेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेको छ। बैंकले यस अवधिसम्म २ अर्ब १ करोड १४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो।
अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको थियो। यस्तै बैंकले ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.४० प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब ८ करोड र सञ्चालन मुनाफा ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा ३५ करोड ९८ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको रिटेन्ड अर्निङ १ अर्ब ७ करोड रुपैयाँले धनात्मक बनेको छ । बैंकको रिजर्भ पनि ५ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.९९ रुपैयाँबाट बढेर १७.३१ रुपैयाँ कायम भएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १६३.८ रुपैयाँ, तरलता अनुपात ३१.१८ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ बराबर रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ९.२३ रुपैयाँ रहेको छ। साथै, बैंकको खराब कर्जा अनुपात ३.८३ प्रतिशत रहेको छ।

































