काठमाडौँ। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म ८ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको खुद नाफामा ७७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी खुद ब्याज आम्दानी अघिल्लो वर्ष १४ करोड ७४ लाख रुपैयाँ रहेकोमा गत वर्ष ४१.८६ प्रतिशतले बढेर २० करोड ९१ लाख रुपैयाँ पुगेको छ।
यता कुल सञ्चालन आम्दानी १८ करोड ८० लाख रुपैयाँबाट बढेर २६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ करोड ९३ लाख रुपैयाँबाट ह्वात्तै बढेर १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
साथै, चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ७७ करोड ११ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरी त्यसबाट १ अर्ब १८ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
यसरी कम्पनीको ब्याज र सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो। खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २४.२६ रुपैयाँबाट बढेर ३७.५८ रुपैयाँ पुगेको छ। यता कम्पनीको खराब कर्जा (एनपीएल) २.१३ प्रतिशतबाट बढेर ४.६९ प्रतिशत पुगेको छ।

































