काठमाडौँ । नेपालमा पछिल्लो समय डिजिटल वित्तीय कारोबार तीव्र गतिमा बढ्दै गएको छ। मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग,वालेट, कनेक्ट आइपीएस, डेबिट र क्रेडिट कार्डजस्ता भुक्तानी माध्यमहरूको प्रयोगमा प्रगति देखिएको हो ।
नेपाल राष्ट्र बैंकको पछिल्ला तथ्याङ्कअनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्म मोबाइल बैंकिङ्गमार्फत ५४ अर्ब ८५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
साथै, इन्टरनेट बैंकिङ्ग मार्फत भएको कारोबार समेत बढेको छ।
राष्ट्र बैंकका तथ्याङ्क अनुसार, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या असोज २०८२/८३ मा २४ करोड ८४ लाख १८ हजार पुगेको छ, जुन भदौ महिनाको २ करोड ८२ लाख ४० हजार बाट उल्लेखनीय वृद्धि हो। इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या पनि बढ्दै गएको छ। भदौमा २२ लाख ७८ हजार २ सय ६२ प्रयोगकर्ता रहेकोमा असोजसम्ममा २३ लाखभन्दा बढी पुगेको छ।
त्यसैगरी, कनेक्ट आइपीएस प्रयोगकर्ताको सङ्ख्या असोजमा १४ लाख ८१ हजार ३८८ पुगेको छ, जुन भदौको १४ लाख ७२ हजारको तुलनामा बढेको हो। डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार, प्रयोगकर्ताको सहजता र बैंकिङ्ग प्रणालीमा विश्वसनीयता बढेपछि मोबाइल र इन्टरनेट बैंकिङ्गको प्रयोग तीव्र गतिमा बढेको बैंकरहरुको धारणा छ ।

































