काठमाडौं। सिक्लेस हाइड्रोपावर र आइसिएफसि फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी दुवै कम्पनीको बुकक्लोज मिति क्रमशः मंसिर १८ र मंसिर १९ तय भएकाले आजसम्म नेप्सेमा कारोबार भई सूचीकृत भएका शेयरधनीहरूलाई मात्रै साधारण सभामा सहभागी हुने र लाभांश प्राप्त गर्ने अधिकार रहनेछ।
भोलि मंसिर १८ गते उधौली पर्व तथा योमरी पुन्हीको सार्वजनिक बिदा परेकाले आजको कारोबार नै दुवैको लाभांश सुरक्षित गर्ने निर्णायक दिन बनेको हो। सिक्लेस हाइड्रोपावरले मंसिर २९ गते, सोमबार, पोखरा–कास्कीस्थित आभ्या क्लब, घारीपाटनमा आफ्नो २० औँ र २१ औँ संयुक्त वार्षिक साधारण सभा आह्वान गरेको छ, जसको सुरु हुने समय बिहान ११ बजे तोकिएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सो बोनसको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै बोनसपश्चात कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ। यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन, हकप्रद जारी गर्दा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, नयाँ सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्त गर्नेजस्ता अन्य एजेण्डा पनि सभामा प्रस्तुत गरिनेछ।
उता, आइसिएफसि फाइनान्सले पनि मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा आफ्नो २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाको सुरु हुने समय बिहान १० बजे रहेको छ। सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।





































