काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा उल्लेखनीय नाफा कमाउँदै आफ्नो वित्तीय प्रदर्शनमा ऐतिहासिक सुधार देखाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्षको पहिलो त्रैमासमा नाफा बढाउँदै २७ करोड ८५ लाख रुपैयाँ कमाएको हो। यसरी हेर्दा कम्पनीको नाफा ८११ प्रतिशतभन्दा बढीले वृद्ध भएको छ।
कम्पनीको विद्युत बिक्री आम्दानी गत वर्षको ३ करोड ८८ लाख रुपैयाँबाट बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, नाफा वृद्धि हुने मुख्य कारण अन्य आम्दानीमा आएको तीव्र वृद्धि हो। कम्पनीले समीक्षाअवधिमा ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ, जुन मुख्यतः सेयर बिक्रीबाट प्राप्त आम्दानी भएको विवरणमा उल्लेख छ।
अन्य आम्दानी उलेख्य रूपमा बढेपछि कम्पनीको सञ्चालन मुनाफा समेत असाधारण रूपमा वृद्धि भएको हो। समीक्षाअवधिमा कम्पनीको सञ्चालन मुनाफा १ हजार ३९६ प्रतिशतभन्दा बढीले बढेको उल्लेख छ। यस अवधिमा ब्याज खर्च पनि केही बढेको देखिन्छ। गत वर्षको पहिलो त्रैमासमा ३१ लाख १७ हजार रुपैयाँ ब्याज खर्च भएकोमा यस वर्ष यो रकम बढेर ७६ लाख ६६ हजार रुपैयाँ पुगेको छ।
पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (EPS) ६० रुपैयाँ ५८ पैसा पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५३ रुपैयाँ ६२ पैसा बढी हो। त्यस्तै, प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा रहेको छ भने कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E ratio) घटेर १०.४३ गुणामा पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ९७ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख छ।


































