काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १६ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सरकारी स्वामित्वको कम्पनीले गत आवको यसै अवधिसम्म १० करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक विवरण अनुसार गत वर्षको तुलनामा चालु आवमा खुद बीमा शुल्क आर्जन ६४.१७ प्रतिशतले बढेको हो ।
कम्पनीले चैत मसान्तसम्म ३९ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो आँकडा गत गत आवको समीक्षा अवधिको तुलनामा २३.३७ प्रतिशतले कम हो । गत आवमा कम्पनीको खुद नाफा ५१ करोड ६३ लाख रुपैयाँ थियो ।
यस वर्ष कम्पनीको कुल आम्दानी ९२ करोड ८६ लाख रुपैयाँबाट ८.१६ प्रतिशतले घटेर ८५ करोड २८ लाख रूपैयाँमा झरेको छ । यस्तै कुल खर्च २६ करोड ३ लाख रुपैयाँबाट २८ प्रतिशतले बढेर ३३ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ४६ करोड रुपैयाँ सञ्चिति रहेको छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी गत वर्षको तुलनामा यस वर्ष ४५ रुपैयाँ २६ पैसाले घटेर १४८ रुपैयाँ ३९ पैसामा झरेको छ । यस्तै प्रतिशेयर नेटवर्थ ६ हजार ३२१ रुपैयाँ ४४ पैसा रहेको छ।






































