काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षा कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले मंसिर २८ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव बुझाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ।
राष्ट्र बैंकले लगानी गर्ने कुल रकममध्ये वाणिज्य बैंकहरूलाई ८० करोड, राष्ट्रियस्तरका विकास बैंकलाई १५ करोड, र राष्ट्रियस्तरका वित्त कम्पनीलाई ५ करोड रुपैयाँ भागबण्डा गरेको छ। उक्त निक्षेप २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि रहनेछ।
ब्याजदर प्रस्ताव पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएका केही योग्यता अनिवार्य रूपमा पूरा गरेको हुनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। आवश्यक मापदण्डमध्ये प्रमुख बुँदाहरू यस्ता छन् ।
कम्तीमा २ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने , न्यूनतम पुँजीकोष कायम भएको हुनुपर्ने , निष्क्रिय कर्जा (NPL) ५ प्रतिशतभन्दा कम हुनुपर्ने, तरल सम्पत्ति–खुद निक्षेप अनुपात २० प्रतिशत वा सोभन्दा बढी भएको हुनुपर्ने, रियल स्टेट कर्जा तोकिएको सीमा पूरा गरेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफामा रहेको र सर्वसाधारणका लागि शेयर जारी गरेको हुनुपर्ने । राष्ट्र बैंकका अनुसार यी सबै सर्त पूरा गर्ने संस्थाले तोकिएको समयसीमाभित्र प्रतिस्पर्धात्मक ब्याजदर प्रस्ताव गर्न सक्नेछन्।






































