काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोटको छपाई प्रक्रिया अगाडि बढाएको छ। राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै दरका ४२ करोड थान नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरूलाई आग्रह गरेको हो।
नेपाल राष्ट्र बैंकले जारी गरेको आह्वानमा इच्छुक कम्पनीले आउँदो सेप्टेम्बर ७ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ।
बोलपत्र सिंगल स्टेज टु इन्भेलोप प्रणालीबाट हुनेछ । प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेश गर्न भनिएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्यका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ ।
त्यस्तै, योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४६ अमेरिकी डलर वा १२६ युरो वा १०९ पाउन्ड धरौटी राख्नुपर्नेछ। राष्ट्र बैंकले छनौट गरेका कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्ने उल्लेख छ ।



































