काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ अर्ब १ करोड १६ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार उक्त रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत निश्चित अवधिका लागि राखिने भएको हो ।
राष्ट्र बैंकका अनुसार कुल रकममध्ये वाणिज्य बैंकहरूमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गरिनेछ। यस लगानीका लागि बैंक तथा वित्तीय संस्थाले पुस २२ गते राति १२ बजेसम्म आफ्नो प्रस्तावित ब्याजदर पेश गर्न सक्नेछन्।
यो मुद्दति निक्षेप सन् २०२६ जनवरी १८ देखि २०२७ जनवरी १८ सम्म, कुल ३६६ दिन अवधिका लागि रहनेछ। प्रस्तावित ब्याजदर, संस्थाको वित्तीय अवस्था तथा राष्ट्र बैंकले तोकेको मापदण्डका आधारमा निक्षेप प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको छनोट गरिने जनाइएको छ।
निक्षेपमा आवेदन दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको योग्यता तथा शर्तहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ। ती शर्तअनुसार सम्बन्धित संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम चुक्ता पुँजी कायम गरेको, निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ८ प्रतिशतभन्दा बढी नभएको तथा खुद तरल सम्पत्ति कम्तीमा ३ प्रतिशत कायम रहेको हुनुपर्नेछ।
राष्ट्र बैंकले यस्तो मुद्दति निक्षेप लगानीमार्फत बैंकिङ प्रणालीमा स्थायित्व कायम गर्नुका साथै तरलता सन्तुलन, ब्याजदर व्यवस्थापन र वित्तीय अनुशासनलाई थप मजबुत बनाउने अपेक्षा रहेको उल्लेख गरेको छ ।






































