काठमाडौं। सिन्धुली–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता गरेपछि उनी कालोसूचीमा परेका हुन् ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम ४ ठाउँमा छ । उनी गत माघ १९ गते पहिलोपल्ट कालोसूचीमा परेका थिए ।
उनको नाम आईसीएफसी फाइनान्सको खातामा पर्याप्त रकम नभएका कारण कालोसूचीमा परेको हो। यसका साथै उनले जारी गरेको चेक बाउन्स भएको थियो। फागुन १५ गतेको सूची सम्बन्ध बिजु मल्टिपर्पस सहकारीसँग जोडिएको छ, जहाँ उनी संस्थापक निर्देशक रहेका कारण नाम परेको हो।
प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता भइसकेपछि उनी कालोसूचीमा परे पनि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थिएन। साथै, दाबीविरोध पनि यसअघि उठाइएको थिएन। यदि उनी उम्मेदवारी दर्ता हुनुअघि नै कालोसूचीमा परेका भए उनी सुरुमै उम्मेदवार बन्न अयोग्य हुने थिए। तर निर्वाचित हुनुअघि कालोसूचीमा परेको तथ्यले सांसद बन्ने योग्यता सम्बन्धी प्रश्न उठाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार, कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको व्यक्ति उम्मेदवार बन्न अयोग्य ठहरिन्छ। तर निर्वाचित भएपछिको अवस्थामा स्पष्ट कानुनी व्यवस्था छैन। यसअघि धनुषा–१ मा रास्वपाकी उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी पनि कालोसूचीमा नाम रहँदा निर्वाचन आयोगले खारेज गरेको थियो। शाहले १३ हजारभन्दा बढी मत प्राप्त गरे पनि कानुनी कारणले चुनावी प्रक्रियाबाट बाहिरिनु परेको थियो।






































