काठमाडौँ । चालु आर्थिक वर्षका पहिलो चार महिनामा नेपालले आयात गरेको लसुनको परिमाण तथा मूल्य उल्लेखनीय रूपमा घटेको छ।
भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार यस अवधिमा ४,९९८.३० मेट्रिक टन लसुन आयात भएको छ, जसको मूल्य रू ६६ करोड ८४ लाख ९९ हजार पुगेको छ। यसबाट रू १६ करोड ३६ लाख २३ हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
यता अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने लसुन आयात अस्वाभाविक रूपमा आकस्मिक रूपमा उकालो लागेको थियो। त्यो समयमा २३,९८९ मेट्रिक टन लसुन आयात हुँदा यसको मूल्य रू ३ अर्ब १७ करोड ३४ लाख ५२ हजार पुगेको थियो। त्यतिबेला सरकारले रू ८१ करोड ९३ लाख ८५ हजार राजस्व आर्जन गरेको थियो।
तुलनात्मक रूपमा हेर्दा चालु वर्ष लसुन आयात परिमाणमा झण्डै ८० प्रतिशतको गिरावट आएको देखिन्छ। मूल्य तथा राजस्व दुवैमा ठूलो मात्रामा कमी हुनु आयात निर्भरता घट्नु, उत्पादन बढ्नु वा बजार मागमा आएको परिवर्तनजस्ता कारकसँग जोडिएको हुनसक्ने विश्लेषकहरूको भनाइ छ। उल्लेखित तथ्यांक अनुसार देखाएको यो तीव्र कमीले लसुनको व्यापार, आपूर्ति सञ्जाल र बजार मूल्यप्रति प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।
































