काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलामी बिक्रीमा राखिएका बैंकिङ, गैर-बैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विशेष अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।
बैंकले https://auctionassistance.nicasiabank.com नामक पोर्टल सञ्चालनमा ल्याएको छ जहाँ लिलामका लागि राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, र लोकेशनसहित विस्तृत विवरणहरू उपलब्ध छन्।
साइटमार्फत सम्पत्ति हेरेपछि थप जानकारी आवश्यक परेमा प्रयोगकर्ताले पोर्टलमै रहेको म्यासेज बक्समा आफ्नो नाम, मोबाइल नम्बर, इमेल र ठेगाना उल्लेख गरी सिधा सन्देश पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार पोर्टलमा लिलामी सम्पत्तिको जानकारी नियमित रूपमा अद्यावधिक गरिनेछ। इच्छुक व्यक्ति वा संस्थाले उक्त पोर्टलबाट सम्पूर्ण विवरण थाहा पाई खरिद प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्।
बैंकले यो प्रणालीले पारदर्शिता र सूचनाको पहुँच सुनिश्चित गर्दै लिलामी प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने विश्वास लिएको छ।































