काठमाण्डौ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनासम्म आइपुग्दा धितोपत्र बजारको पुँजीकरण घट्दै ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८१ साउन मसान्तमा ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ रहेको बजार पुँजीकरण एक वर्षमा घटेर हालको स्तरमा पुगेको हो ।
रिपोर्टअनुसार बजार पुँजीकरण सकल गार्हस्थ्य उत्पादन (जिडिपी) को २०८१ साउन मसान्तमा ८३.४८ प्रतिशत थियो भने २०८२ साउनमा घटेर ७६.२४ प्रतिशतमा झरेको छ ।
सूचीकृत कम्पनीको पुँजीकरणमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२.६ प्रतिशत छ । त्यस्तै जलविद्युत कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.६ प्रतिशत, व्यापारिक संस्थाको ५ प्रतिशत, होटलको २.७ प्रतिशत र अन्य समूहको ११.१ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।
नेप्से सूचकाङ्क पनि अघिल्लो वर्षको तुलनामा घटेको छ । २०८१ साउन मसान्तमा ३०००.८१ अंकमा रहेको सूचकाङ्क २०८२ साउन मसान्तमा झरेर २७८८.३७ अंकमा पुगेको छ । राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ८८ करोड कित्ता शेयरको चुक्ता मूल्य ८ खर्ब ७५ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ को अवधिमा मात्र ८ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यसमध्ये ७ अर्ब ५० करोड बराबरको साधारण शेयर, ७१ करोड ८५ लाख बराबरको बोनस शेयर र २ करोड २५ लाख बराबरको हकप्रद शेयर रहेका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ३३ करोड रुपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको पनि राष्ट्र बैंकले जनाएको छ । यसमा ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र ४७ करोड १५ लाख बराबरको साधारण शेयर समावेश छन् ।































