काठमाडौं । वाणिज्य बैंकहरूमा थुप्रिएको गैरबैंकिङ सम्पत्ति करिब साढे ४३ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) विवरणअनुसार देशभरका १९ वाणिज्य बैंकमा जम्मा ४३ अर्ब २४ करोड ३२ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको देखिन्छ। अघिल्लो वर्षको यही अवधिमा यो रकम ३१ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ मात्र थियो।
यस आधारमा चालु वर्ष वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३६.२७ प्रतिशतले वृद्धि भएको छ।
वाणिज्य बैंकहरूले प्रकाशन गरेको विवरण अनुसार तीन बैंकले यस वर्ष गैरबैंकिङ सम्पत्ति घटाउन सफल भएका छन् भने १६ बैंकमा यसको परिमाण बढेको पाइन्छ। प्राइम बैंक र नेपाल एसबीआई बैंकमा गैरबैंकिङ सम्पत्ति १५ प्रतिशतभन्दा बढीले बढेको छ। कुमारी बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने सो सम्पत्ति घटाउन सफल भएका छन्।
असोज मसान्तसम्म ग्लोबल आइएमई बैंकमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति रहेको छ, जसको आकार ६ अर्ब ५ करोड ५९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.०८ प्रतिशतले बढी हो। दोस्रो स्थानमा रहेको हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ छ। तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकमा ४ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ, जहाँ क्रमशः ८०.२८ प्रतिशत र ५.८२ प्रतिशत वृद्धि देखिन्छ।
































