काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपालका २० वाणिज्य बैंकमा कुल ६६ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। पहिलो त्रैमाससम्मको तथ्यांक अनुसार सबैभन्दा बढी डिपोजिट ग्लोबल आइएमई बैंकमा रहेको छ भने दोस्रोमा नबिल बैंक र सबैभन्दा कम माछापुच्छ्रे बैंकमा रहेको छ।
ग्लोबल आइएमई बैंकमा अहिले ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढी हो। बैंकले संकलित निक्षेपबाट ४ खर्ब २१ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ।
सबैभन्दा बढी निक्षेप संकलन गर्ने तेस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक हो, जसमा ५ खर्ब २८ अर्ब निक्षेप रहेको छ, गत वर्षको तुलनामा ५.५२ प्रतिशतले वृद्धि भएको छ। चौथो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेको छ, जुन गत वर्षको तुलनामा ४ प्रतिशतले बढी हो। एनआईएमवीको कर्जा लगानी ३ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ, गत वर्षको तुलनामा १.१९ प्रतिशतले वृद्धि भएको छ।
गत वर्षको तुलनामा निक्षेप संकलनमा सबैभन्दा अगाडि नबिल बैंक र दोस्रोमा नेपाल एभिआई बैंक रहेको छ। नबिल बैंकले गत वर्षको तुलनामा ८ प्रतिशत, नेपाल एभिआई बैंकले ६.७० प्रतिशतले निक्षेप वृद्धि गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १७ बैंकको निक्षेप बढेको छ भने तीन बैंकको निक्षेप घटेको छ। सबैभन्दा धेरै घटेको सानिमा बैंक हो, जसको निक्षेप २.५३ प्रतिशतले घटेर २ खर्ब ७३ अर्ब पुगेको छ। त्यस्तै कुमारी बैंकको निक्षेप १.१६ प्रतिशतले घटेर ३ खर्ब ६० अर्ब, र प्राइम कमर्शियल बैंकको निक्षेप ०.६१ प्रतिशतले घटेर २ खर्ब ६१ अर्बमा आएको छ।
त्यस्तै, कर्जा लगानीमा एभरेष्ट बैंक सबैभन्दा अगाडि छ, जसको कर्जा लगानी ६.५२ प्रतिशतले वृद्धि भएको छ। दोस्रोमा माछापुच्छ्रे बैंक रहेको छ, जसको कर्जा लगानी ५.३१ प्रतिशतले बढेको छ। केही बैंकमा कर्जा लगानी घटेको देखिन्छ; जस्तै बैंकको कर्जा लगानी ५.३१ प्रतिशतले घटेर २ खर्ब १२ अर्ब पुगेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी ३.८१ प्रतिशतले घटेर ७० अर्बमा झरेको छ। समग्रमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि देखिएको छ।
































