काठमाडौँ । स्थापनाको ५७औं वार्षिकोत्सवको अवसर पारेर नेपाल बीमा प्राधिकरणले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बुधबार बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।
प्रभातफेरी र्याली सहभागीहरूले बीमा सम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू अङ्कित प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गरेका थिए । भद्रकालीदेखि सुरु भएको ¥याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी जिम्मेवारी र इमान्दारिताका साथ काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
अध्यक्ष ओझाले भने, “बीमा व्यवसायको हालसम्मको अवधिको समीक्षा गर्नु आवश्यक छ । जोखिम हस्तान्तरण गरेर वित्तीय सुरक्षण गर्न सकिन्छ भनेर आम नागरिकलाई आश्वस्त पार्नुपर्छ । दाबी भुक्तानी लगायतमा देखिएका कमी कमजोरीहरूलाई घटाउँदै शून्यमा झार्नुपर्छ ।”
उनले बीमाप्रतिको विश्वसनीयता अभिवृद्धि, सेवामा सुधार, नवीनतम प्रविधि अवलम्बन र पहुँच वृद्धिको प्रक्षेपण सहितको वार्षिक कार्यक्रम ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन समेत दिए । “बीमा कम्पनीहरू सरकारले बीमा गर्न बाध्यकारी गराएको क्षेत्रबाट बाहिर निस्कनुपर्छ । नयाँ नयाँ क्षेत्रमा जानुपर्छ । समग्र बीमा क्षेत्रको विकास एवम् विस्तारमा आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ”, उनले भने । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम सर्वसाधारणसम्म लाभ पुग्ने गरी उपयोग गर्न समेत बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा कम्पनीहरूले बीमा व्यवसाय मात्र नभई सेवा पनि हो भन्ने भावनाले काम गर्नुपर्ने र बीमा व्यवसायलाई थप मर्यादित एवम् व्यवस्थित बनाउँदै अघि बढ्नुपर्ने विचार राखे ।
प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा कर्मचारीहरू, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ, नेपाल लघुबीमक संघ, नेपाल बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ र नेपाल इन्स्योरेन्स ब्रोकर संघका अध्यक्ष तथा पदाधिकारीहरू र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।






































