काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमार्फत एक अर्ब २० करोड रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको हो। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरिएको छ।
केन्द्रीय बैंकका अनुसार इच्छुक संस्था भदौ ३० गतेभित्र आफ्नो निवेदन पेश गर्न सक्नेछन्।
‘क’ वर्गका वाणिज्य बैंक: रु १ अर्ब ४ करोड
‘ख’ वर्गका विकास बैंक: रु १९ करोड ५० लाख
‘ग’ वर्गका वित्त कम्पनी: रु ६ करोड ५० लाख
राष्ट्र बैंकले लगानीका लागि केही मापदण्डहरू तोकेको छ। बैंक वा वित्तीय संस्थाले न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनुपर्नेछ। साथै, निष्क्रिय कर्जा सापटीको दर ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी ननाघेको हुनुपर्ने शर्त राखिएको छ।
बैंक तथा वित्तीय संस्थाका लागि यस लगानी अवसरले पुँजीकोष सुदृढ पार्ने मात्र होइन, संस्थागत स्थायित्व बढाउने र निक्षेपकर्तामा विश्वास कायम गर्ने लक्ष्य राखिएको राष्ट्र बैंकको भनाइ छ।































