काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि दक्षिण एशियामै सबैभन्दा कमजोर रहने प्रक्षेपण गरेको छ। विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। यो प्रक्षेपण यसअघि जुन महिनामा गरिएको अनुमानभन्दा ३.१ प्रतिशत बिन्दुले कम हो।
विश्व बैंकका अनुसार नेपालमा देखिँदै आएको बढ्दो राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितताले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने संकेत देखिएको छ। प्रतिवेदनमा यी कारणले पर्यटन क्षेत्र प्रभावित हुँदै पर्यटक आगमनमा तीव्र गिरावट आउन सक्ने तथा सेवा क्षेत्रको गतिविधि समेत कमजोर हुने उल्लेख गरिएको छ।
यस्तै, लगानीकर्ताको मनोभाव कमजोर रहनु र आर्थिक वातावरणप्रति बढ्दो अनिश्चितताका कारण औद्योगिक उत्पादनमा समेत मन्दी देखिने सम्भावना रहेको विश्व बैंकको आकलन छ। यसले रोजगारी सिर्जना, आय वृद्धि र समग्र आर्थिक गतिशीलतामा थप दबाब सिर्जना गर्न सक्ने प्रतिवेदनमा जनाइएको छ।
दक्षिण एशियाली क्षेत्रको तुलनात्मक अवस्थाबारे प्रतिवेदनमा भुटानको आर्थिक वृद्धि सबैभन्दा उच्च रहने प्रक्षेपण गरिएको छ। आर्थिक वर्ष २०२५/२६ (सन् २०२५ को जुलाई मध्यदेखि २०२६ को जुलाई मध्यसम्म) मा भुटानको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ। भुटानपछि भारतको आर्थिक वृद्धि दक्षिण एशियामा दोस्रो उच्च रहने प्रक्षेपण गरिएको छ।
विश्व बैंकका अनुसार भारतको आर्थिक वृद्धिदर चालू अवधिमा ६.५ प्रतिशत रहने अनुमान छ, जसले क्षेत्रीय अर्थतन्त्रमा भारतको प्रमुख भूमिका कायमै रहेको संकेत गर्छ। यद्यपि चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि कमजोर रहने अनुमान गरिएको भए पनि आगामी आर्थिक वर्ष २०८३/८४ मा भने वृद्धिदर क्रमशः सुधार हुने अपेक्षा गरिएको छ।
प्रतिवेदनमा सन् २०२६ को सुरुवाततिर बंगलादेश र नेपालमा हुने तय भएका निर्वाचनपछि हुने राजनीतिक संक्रमणले नीतिगत स्पष्टता र आर्थिक स्थायित्वमा सुधार ल्याउन सक्ने उल्लेख गरिएको छ। समग्रमा, विश्व बैंकको प्रतिवेदनले नेपालसहित दक्षिण एशियाली मुलुकहरूको आर्थिक अवस्थालाई राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरणसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा औंल्याएको छ।






































