काठमाडौं। कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापक शेयरधनीको शेयर हिस्सा घटाइएको छ।
नेपाल राष्ट्र बैंकद्वारा समस्याग्रस्त संस्था घोषणा गरिएपछि गठन गरिएको व्यवस्थापन समूहले मंगलबार सूचना जारी गर्दै संस्थापक समूहले अवैधानिक रूपमा शेयर कायम गरेको ठहर गर्दै उनीहरूको शेयर हिस्सा कटौती गर्ने निर्णय सार्वजनिक गरेको हो।
राष्ट्र बैंकले २०८१ साल पुस १० गते बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन तथा सञ्चालनका लागि कार्यदल गठन गरेको थियो। कार्यदलले अध्ययन–अनुसन्धानका आधारमा बैंकको चुक्ता पुँजी क्षय भएको, सम्पत्तिले दायित्व नथेग्ने अवस्था सिर्जना भएको तथा केही संस्थापक शेयरधनीले चुक्ता हुनुपर्ने रकम अवैधानिक तरिकाले भुक्तानी गरेको निष्कर्ष निकालेको छ।
पुनर्संरचना प्रक्रियाअन्तर्गत अवैधानिकरूपमा कायम राखिएको पुँजी समायोजन गरिँदै ती संस्थापक शेयरधनीको हिस्सा घटाएर कुल शेयरको केवल एक प्रतिशतमा सीमित गरिएको व्यवस्थापन समूहले जनाएको छ।


































