काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरूले प्रवाह गर्ने कर्जा ११ अर्ब रुपैयाँले घटेको छ। गत असारमा कुल वाणिज्य बैंकहरूले ४९ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा साउनमा यस्तो लगानी ४९ खर्ब ६४ अर्ब रुपैयाँमा सीमित भएको हो।
त्यस्तै, नेपाल बैंकर्स संघका अनुसार, बैंकहरूको निक्षेप संकलन समेत ५२ अर्ब रुपैयाँ घटेको छ। असारमा ६५ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूको साउनमा यस्तो निक्षेप घटेर ६४ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा अहिले करिब सात खर्ब रुपैयाँ कर्जा लगानी योग्य रकम थुप्रिएको छ। कर्जा लगानी हुन नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात औसतमा ७५.८३ प्रतिशत रहेको छ। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको यस्तो अनुपात सबैभन्दा कम ६२.४७ प्रतिशत छ। बैंकले चार खर्ब ८९ अर्ब निक्षेप संकलन भएकोमा तीन खर्ब पाँच अर्ब कर्जा लगानी गरेको छ । जस अनुसार सबैभन्दा धेरै निक्षेप हुनेमा ग्लोबल आइएमई बैंक छ। बैंकले पाँच खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा चार खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७४. १६ प्रतिशत छ।
त्यस्तै, चालु आवको पहिलो महिनामा कर्जा बढाउन एभरेष्ट र ग्लोबल आइएमई बैंक आक्रामक देखिएका छन् । सञ्चालनमा रहेका २० मध्ये साउनमा १० बैंकको कर्जा गत असारको तुलनामा घटेको छ भने १० बैंकले बढाएका छन् ।
सबैभन्दा धेरै कर्जा बढाउनेमा एभरेष्ट बैंक देखिन्छ । यो बैंकले साउनमा मात्रै कर्जा ५ अर्ब ६४ करोड रुपैयाँले बढाएर २ खर्ब २९ अर्ब ३० करोड रुपैयाँ पु¥याएको छ । ग्लोबल आइएमई बैंकले साउनमा ४ अर्बले कर्जा बढाएको छ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा नै ८ अर्ब ६८ करोडले घटाएको छ।
हिमालयन बैंकको कर्जा ३ करोड ५० लाख रुपैयाँले घट्दा राष्ट्रिय वाणिज्य बैंकको कर्जा साउनमा ३ अर्ब १७ करोड रुपैयाँले घटेको छ । कृषि विकास बैंकको २ अर्ब ६७ करोड, नबिल बैंकको २ अर्ब ८ करोड र कुमारी बैंकको कर्जा २ अर्ब ५ करोड रुपैयाँले घटेको छ। कर्जा विस्तार सहित निक्षेप बढाउनमा समेत ग्लोबल आइएमई बैंक अगाडि रहेको छ। यो बैंकले निक्षेप ७ अर्ब ९६ करोड रुपैयाँले बढाएर ५ खर्ब ८३ अर्ब १ करोड पुर्याउँदा नबिल बैंकले ४ अर्ब ७६ करोड रुपैयाँले बढाएर ५ खर्ब ३७ अर्ब रुपैयाँ बनाएको छ।
त्यस्तै, हिमालयन बैंकले निक्षेप ४ अर्ब ६७ करोडले बढाएर ३ खर्ब १७ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ । नेपाल एसबिआई बैंकको निक्षेप १ अर्ब ७ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप १ अर्ब ९८ करोड रुपैयाँले बढेको छ। यता सिद्धार्थ बैंकको निक्षेप सर्वाधिक १७ अर्ब ४४ करोड रुपैयाँले घट्दा कुमारी बैंकको १६ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । यस्तै, नेपाल बैंकको निक्षेप ६ अर्ब ९८ करोड रुपैयाँ र प्रभु बैंकको निक्षेप ६ अर्ब ८१ करोड रुपैयाँले घटेको छ































