काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा उल्लेख्य गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल निक्षेप ५५ अर्ब ७९ करोड रुपैयाँले (०.८ प्रतिशत) घटेर ७ खर्ब २० अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पनि निक्षेप ४३ अर्ब ४५ करोड रुपैयाँ (०.७ प्रतिशत) ले घटेको थियो।
तर वार्षिक विन्दुगत आधारमा भने २०८२ साउन मसान्तसम्म कुल निक्षेप १२.५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
निक्षेप संरचनातर्फ हेर्दा साउन मसान्तसम्म कुल निक्षेपमा चल्ती खाताको अंश ५.६ प्रतिशत, बचत खाताको अंश ३७.५ प्रतिशत र मुद्दती खाताको अंश ४८.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तै संरचनामा क्रमशः ५.० प्रतिशत, ३०.३ प्रतिशत र ५७.५ प्रतिशत अंश रहेको थियो।
यसले मुद्दती निक्षेपको हिस्सा घट्दै गएको देखाउँछ भने बचत खातातर्फ आकर्षण बढ्दो देखिन्छ ।































