काठमाडौं । साना किसान विकास वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। काठमाडौंमा सम्पन्न संस्थाको २४ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।
‘साना किसानको समृद्धि, कृषिको रूपान्तरण र उद्यमशीलताको विकास’ भन्ने नाराका साथ स्थापित संस्थाले आगामी दिनमा अझ उच्च प्रतिफल दिने गरी व्यवसाय विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा १,४६३ साझेदार संस्था आवद्ध यस वित्तीय संस्थाले हालसम्म ९ लाख ४१ हजारभन्दा बढी साना किसान परिवारलाई लघुवित्त सेवा पुर्याइसकेको छ। तीमध्ये ८२ प्रतिशत महिला सहभागिता रहेको संस्थाले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म संस्थाको जारी तथा चुक्ता पुँजी ४ अर्ब ३१ करोड, कुल सम्पत्ति ४१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी २०.२९ रुपैयाँ र बुक नेटवर्थ २३९.३८ रुपैयाँ रहेको छ। संस्थाले हालसम्म ३५ अर्ब ९० करोड रुपैयाँ बराबरको ऋण लगानी गरेको छ। सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रमअन्तर्गत लाखौँ किसान लाभान्वित भएका छन्।
यस कार्यक्रमबाट १७ लाखभन्दा बढी पशुवस्तु पालन, १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती तथा हालसम्म ७३ अर्ब रुपैयाँभन्दा बढीको कृषि उत्पादन भएको संस्थाले जनाएको छ। संस्थाले कृषि उद्यम, मूल्य श्रृंखला विकास, युवा सहभागिता, अन्तर्राष्ट्रिय कृषि तालिम र ग्रामीण उद्यम परियोजनामार्फत साना किसानको आयवृद्धि र कृषि व्यवसायिकरणमा योगदान पुर्याउँदै आएको जनाएको छ।






































